भारतीय नोट नसाटिने !

Posted On    Author    Category अर्थ.

काठमाडौं- नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई ) ले अस्वीकार गरेको छ । यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारु) कागजको खोस्टासरह हुनेछ ।

भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो । आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो ।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिंदै नेपालसँग रहेको भारुको सटही सुविधा दिने नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ । उसले नेपालको चासो आफ्नो अर्थ मन्त्रालयसमक्ष पु¥याएको र आफुले केही गर्न नसक्ने जानकारी दिएको छ ।

‘राष्ट्र बैंकको पक्षबाट भारु सटही गर्न सकिने अवस्था देखिएन,’ बैंकका ती उच्च अधिकारीले भने, ‘हामीले सकेसम्म गरेका हौं, कुनै प्रगति हुन सकेन । यो विषयमा अब दुवै मुलुकका प्रधानमन्त्रीबीच वार्ता हुन सके मात्र समस्या समाधान होला ।’

उनले दुवै प्रधानमन्त्रीबीच आपसी वार्ता नभएसम्म नेपालमा रहेको अर्बौं रुपैयाँ बराबरको पाँच सय र हजार दरका भारुको भविष्य अन्योलमै रहेको बताए । अहिले बंैकिङ प्रणालीमा पाँच र हजार दरका गरेर साढे तीन करोड भारु छ । उद्योगी व्यवसायी र सर्वसाधारणसँग गरेर १० अर्ब रुपैयाँभन्दा बढी यस्ता दरका नोट रहेको अनुमान व्यवसायीको छ ।

परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि नेपालीसँग भएको पाँच र हजार दरको भारु सटही गराउन सक्ने विश्वास दिलाउन सकेनन् । उनले सोमबार नागरिकसँग भने ‘भारु सटहीका लागि सरकारी स्तरबाट प्रयास भइरहेको छ । सटही हुने नहुनेमा यसै भन्न सकिएन ।’ मन्त्री महतले नेपाललाई सटही सुविधा दिँदा भारतबाट अवैध रुपमा जम्मा गरेको भारु आउन सक्नेमा भारत सशंकित देखिएको जानकारी दिए ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार अर्थमन्त्री कृष्णबहादुर महराले पनि सोमबार सटही सुविधाका लागि भारतीय अर्थमन्त्री अरुण जेट्लीसँग कुरा गरे तर समस्या जहाँको त्यहीँ छ ।

परराष्ट्रमन्त्री महतले जस्तै राष्ट्र बैंकका ती अधिकारीले पनि नेपालमा रहेका पाँच र हजार दरका भारु साट्ने सुविधा दिए भारतबाट अवैध भारु नेपालभित्र जान सक्ने डर भारतीय सरकारको रहेको बताए । ‘भारतको नोटमा उसैको अधिकार हुन्छ,’ ती अधिकारीले भने, ‘नेपाल सरकार र राष्ट्र बैंकले पहलसम्म गर्न सक्छन्, तर उसले नसाटे त्यतिबेला केही गर्न सकिँदैन ।’

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार उद्योगी, व्यवसायी, व्यापारी र सर्वसाधारणसँग अर्बौ रुपैयाँ बराबरका पाँच र हजार दरका भारु भएको जानकारी दिंदै भारतसँग साट्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ । अध्यक्ष पशुपति मुरारकाले सोमबार नागरिकसँग कुरा गर्दै नेपालमा पाँच र हजार दरका भारु दश अर्बभन्दा बढी रहेको बताए । ‘तराईका क्षेत्रसँगै मध्य र सुदुर पश्चिमका जिल्लामा व्यापक रुपमा भारुको प्रचलन छ,’ उनले भने ‘दसैं र तिहारका अवसरमा यी क्षेत्रमा आएको भारु भारतमा फर्कनै पाएको थिएन ।’

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *