फेरि डुब्यो भक्तपुर

Posted On    Author    Category सामाजिक.

भक्तपुर — भक्तपुर नगरपालिका–१ सिर्जनानगरकी विद्या भण्डारी शनिबार रातभर निदाउन सकिनन् । रातभरको अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बहाव हेर्न राति खोलामा पुगिन् । ‘राति २ बजे खोलाछेउ पुग्दा पानीको बहाव बढेको थिएन,’ उनले भनिन्, ‘खोलाबाट फर्किएर केहीबेर ओछ्यानमा पल्टिएको मात्र के थिएँ, खाटसम्म भेल आइपुग्यो ।’

गत असार २७ को बाढीका कारण डुबान खेपेको विद्याको परिवार आइतबार पुन: सोही पीडा भोग्न बाध्य भयो ।

अघिल्लो डुबानको पीडाबाट उठ्न नपाउँदै राधेराधे सल्लाघारीलगायत क्षेत्रका बासिन्दा पुन: डुबानमा परेका छन् । आइतबार बिहान घरभित्र पसेको भेल पन्छाउँदै गरेका नेत्र खत्रीले भने, ‘न सुत्ने ओछ्यान ओभानो छ, न खाने कुरा नै केही बाँकी छ ।’ सिर्जनानगर क्षेत्रका बासिन्दाले हनुमन्ते खोलामा आएको बाढीमात्र नभई सूर्यविनायक नगरपालिकाको कटुञ्जेदेखि आउने ढलको सास्ती पनि व्यहोर्दै आएका छन् ।

‘सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डअन्तर्गत राधेराधेस्थित पुल निर्माण गर्दा बस्तीको ढल निकास थुनियो,’ स्थानीय दुर्गा भण्डारीले भनिन् । अविरल वर्षाका कारण हनुमन्ते, खस्याङखुसुङ, ढुंगे खोलालगायतमा आएको बाढीले मध्यपुर थिमि र भक्तपुर नगरपालिका भित्र पर्ने राधेराधे, सल्लाघारी, राममन्दिर, बाराहीस्थान क्षेत्रको सिंगो बस्ती डुबानमा पर्दै आएको छ ।

डुबानका कारण राधेराधे क्षेत्रका बालबालिका विद्यालय जान पाएनन् । बाढीका कारण यातायात व्यवस्था विभागको कार्यालयले राधेराधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) बन्द भएको छ । त्यस्तै, हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, डा. इवामुरा अस्पताल, अक्सफोर्ड स्कुललगायत क्षेत्र डुबानमा परेका छन् ।

अव्यवस्थित सहरीकरण तथा खोला अतिक्रमणका कारण हनुमन्ते खोलाले बस्ती डुबानमा पार्ने गरेको जानकारहरू बताउँछन् । ‘पछिल्लो समय मिचाहा प्रवृत्ति बढ्दै गएको छ,’ मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने । भक्तपुर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख एसपी हिमालयकुमार श्रेष्ठलगायतले डुबान क्षेत्रको अवलोकन गर्दै हनुमन्ते करिडोर नै अन्तिम विकल्प हुनसक्ने बताएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोलीले आइतबार राधेराधेस्थित ६ लेन सडकको पुल भासिने जोखिम नियन्त्रणका लागि तारजाली हालेको नगरप्रमुख श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *