‘नेवा: ऐला’ सिएनएनको उत्कृष्ट पेयपदार्थको सूचीमा

Posted On    Author    Category सामाजिक.

newari aaila best liquor in ccn list

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटी एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ।’

दसैंको मौकामा तपाईं पनि रक्सी पिउनुहुन्छ भने सिएनएनको ४१ औं स्थानमा परेको नेवाः ऐला चाख्ने कि? यस्तो रक्सी बनाउने परम्परागत तरिका के हो? यो जान्न हामीले काठमाडौं, नरदेवीकी स्थानीय सोभिता महर्जनसँग कुराकानी गर्यौं। उनका अनुसार ऐला बनाउनुअघि ‘जाँड’ कसरी बनाइन्छ भन्ने जान्न जरुरी छ। नेवार भाषामा ‘थ्वँ’ भनिने जाँड एक पाथीभन्दा कम चामलको बन्दैन। ताइचिन चामलको चिउराबाट पनि बनाउन सकिन्छ।

सुरुआतमा चामललाई दुई घन्टाभन्दा बढी भिजाउनुपर्छ। त्यसपछि ‘फोँसी’ अर्थात्, कसौंडी आकारको तामाको भाँडामा पानी उमाल्नुपर्छ। अघि भिजाइरहेको चामलको पानी तर्काएर निकाल्दै पोटासीः (ममः पकाउनेजस्तै साना प्वाल भएको भाँडा) मा बाफ दिएर चलाउँदै हल्का पकाउनुपर्छ। पाक्न लागेपछि त्यसलाई निकाल्ने। यतिबेलासम्म भात आधा पाकेको हुन्छ। त्यसलाई चिसो पानीले भिजाउनुपर्छ।

patan heart clinic - whole body checkup

 

यो भातलाई पानी उम्लिरहेको फोँसीमा फेरि पोटासीः माथि राखेर चलाउँदै पकाउनुपर्छ। यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ। ‘यो भातलाई नेवारीमा ‘हाजा’ भनिन्छ। अर्थात्, बाफमा पकाएको भात,’ सोभिताले भनिन्, ‘हाजालाई केही बेर चिसो बनाउन फिँजाएर राख्नुपर्छ। अनि बल्ल जाँड बनाउने विधि सुरु हुन्छ।’

हामीले साधारण तरिकाबाट चामल पकाएर वा चिउराबाट पनि जाँड बनाएको देख्छौं। परम्परागत नेवार विधि यही हो।

यो भात (हाजा) मा मर्चा (जाँड बनाउन चाहिने सामग्री) लाई धूलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ। त्यसपछि कोँचा (जाँड राख्ने भाँडा) मा हाजा खन्याइन्छ। त्यसअघि कोँचालाई फोँसीमा उम्लिरहेको तातोपानीले बफ्याउँदा राम्रो हुन्छ।

यसो गर्दा जाँड (थ्वँ) ढुसी परेर बिग्रने सम्भावना कम हुन्छ। कोँचामा जाँड बनाउन लपेस (पातले बनाएको भोज खाने भाँड) ले छोप्नुपर्छ। करिब चार दिन छोपेर राखेपछि जाँडको बासना बाहिरसम्मै आउँछ। त्यसलाई केही बेर खुल्लै छाडिदिनुपर्छ।

ShopIn Holidays Pvt. Ltd.

 

यो प्रक्रियाबाट तयार भएकोलाई पोकः भनिन्छ। यसमा आवश्यकताअनुसार पानी राखेपछि ‘थ्वँ’ अर्थात् जाँड तयार हुन्छ। ‘पोकः बाट तीनपटकसम्म ‘थ्वँ’ निकाल्न सकिन्छ,’ सोभिताले भनिन्, ‘थ्वँ बनाएपछि बाँकी रहेको अवशेषलाई ‘कः’ भनिन्छ। त्यसैबाट रक्सी बनाइन्छ।’ कःलाई सख्खर र पानीसँग फिटेर महिनादिन राख्नुपर्छ। सग्लो पानीजस्तो निस्कन्छ। बल्ल रक्सी बनाउने प्रक्रिया सुरु हुन्छ। ‘रक्सी वाष्पीकरण प्रक्रियाबाट बन्छ। यो जति पुरानो भयो त्यति राम्रो मानिन्छ,’ सोभिताले भनिन्।

नेवार सभ्यतामा रक्सीलाई सगुनका रूपमा लिइन्छ। जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ। चाडपर्वमा सगुनका रूपमा दिइन्छ। यसले वैज्ञानिक कारण बोकेको सोभिता बताउँछिन्। ‘चाडपर्वमा हामी धेरै प्रकारका खानेकुरा खान्छौं। यी प्रायः चिल्लो हुन्छ। जाँडरक्सीले चिल्लो काड्छ,’ उनले भनिन्, ‘जाडोमा शरीर न्यानो पनि बनाउँछ।’ रक्सीमा पाइने एन्टिअक्सिडेन्ट शरीरका लागि फाइदाकारी हुने मान्यता छ। ‘थोरै खाएमा रक्सी औषधि हो, धेरै खाए हानी पुर्याउँछ,’ उनले भनिन्।

Source : Setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *