गगन थापासँग काम गर्न चाहनुहुन्छ? आवेदन दिनुस्

Posted On    Author    Category राजनीति.

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापासँग काम गर्न चाहनुहुन्छ? तपाईंलाई अवसर छ।नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्न इच्छुकबाट आवेदन मागेका छन्।

सांसदको कार्यालयमा बसेर अध्ययन, अनुसन्धान र नीतिगत क्षेत्रमा काम गर्न चाहनेहरूले प्रशिक्षार्थी (इन्टर्न) बन्न आवेदन दिन सक्ने सांसद थापाले बताए।

थापाले खोलेको सांसद कार्यालयमार्फत् विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुँदै आएको छ। यी क्षेत्रमा चार जनाले मिलेर काम गरिरहेका छन्। उनीहरूको काममा मद्दत पुर्याउन आवेदन मागिएको थापाले जानकारी दिए।

‘हामीले गरिरहेको रिसर्चमा सहयोग पुर्या्उने साथीहरूलाई सहयोग गर्न नयाँ साथी खोजिएको हो,’ थापाले सेतोपाटीसँग भने, ‘नीति निर्माणमा सघाउने गरी अध्ययन-अनुसन्धान गर्ने हाम्रो प्राथमिकता हो।’

सांसद थापाले पाँच वर्षअघि पनि यसरी नै आवेदन खुलाएर नयाँ युवालाई काम गर्ने अवसर दिएका थिए।

‘२०७० सालपछि पनि हामीले आवेदन खोलेका थियौं, थुप्रै इन्टर्नहरूले काम गर्नुभयो,’ सांसद थापाले भने, ‘स्वास्थ्य, काठमाडौंको पूर्वाधार निर्माण, उद्यमशीलताका क्षेत्रमा काम गरिएको थियो।’

newclassictailor-1

 

सांसद कार्यालयले अहिले गरिराखेका कामहरू नयाँ जनशक्तिले निरन्तरता दिनेछन्। आफ्नो निर्वाचन क्षेत्रबाहेक काठमाडौं र उपत्यकाबाहिर पनि विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि काम भइराखेको थापाले बताए।

‘मैले जुन-जुन विषयमा नीतिगत तहमा काम गरिराखेको छु, त्यसैमा इन्टर्नले पनि काम गर्ने हो,’ थापाले भने, ‘न्यूनतम तीन महिना काम गर्नुपर्छ। खासगरी नीति निर्माणमा रहेर। काम गर्दै जाँदा ज्ञान तथा सीप सिकिने भएकोले इन्टर्न गर्न आउनेहरू धेरै हुनुहुन्छ।’

यसपालि थापाले सात जना प्रशिक्षार्थी आवश्यक परेको बताए। तीमध्ये दुई जना इञ्जिनियर, एक जना कानुन सम्बन्धी र बाँकी सामान्य इन्टर्न।

‘अघिल्लो पटक काम गरेका टीमले पोखरा विमानस्थलको साइट बनाएर जमिनको प्रयोग कस्तो छ? भूमी सम्बन्धी कानुनले हाम्रो मुलुकमा पूर्वाधार निर्माणमा ढिलोचाँडो के भएको छ? भन्नेबारे अध्ययन गरेर प्रतिवेदन दिएको थियो,’ थापाले भने।

सांसद कार्यालयले कुनै विषयअध्ययनका लागि जनशक्ति खटाउने र त्यसको नीतिगत विषयमा गहिरोसँग अध्ययन गर्ने गरेको थापाले बताए।

‘खानेपानी, काठमाडौंको वातावरण प्रदूषण लगायतमा पनि काम गरिसकिएको छ,’ थापाले भने।

सांसद कार्यालयमा यसरी आवेदन दिएर काम गर्ने प्रशिक्षार्थीले पारिश्रमिक भने पाउँदैनन्। तर काम अवधिभर उनीहरूले अतिरिक्त खर्च भने व्यहोर्नु नपर्ने थापाले बताए।

‘इन्टर्नको व्यक्तिगत रूपमा केही खर्च हुन्न। सबै सांसद कार्यालयबाट खर्च गरिन्छ,’ सांसद थापाले भने, ‘उनीहरूले धेरै कुरा सिक्न पाउँछन्। उनीहरूबाट मैले र हाम्रा साथीहरूले पनि धेरै सिकेका छौं। सौद्धान्तिक र व्यवहारिक ज्ञान बाँड्न हो। सिकेपछि प्रशिक्षार्थीको करिअरमा सहयोग पुग्छ।’

source: setopati.com

ShopIn Holidays Pvt. Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *