कान्ति लोकपथमा साना सवारी चल्न थाले

Posted On    Author    Category सामाजिक.

पहिलो दिन ८० सवारी कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चले

हेटौंडा — राजधानीलाई तराईसँग जोड्न ६ दशकअघिदेखि निर्माण कार्य सुरु गरिएको कान्ति लोकपथ भएर सोमबारदेखि हेटौंडाबाट साना सवारी काठमाडौं चल्न थालेको छ । पहिलो दिन ८० टाटासुमो कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चलेका छन् ।
हेटौंडा–भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली र फाखेल फर्पिङको मोटरबाटो ५ दिनदेखि अवरुद्ध भएकाले हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने साना सवारी कान्ति लोकपथ र त्रिभुवन राजपथ भएर आवतआवत गरेका हुन् । हेटौंडाबाट ललितपुरको सातदोबाटोसम्म आवतजावत गरेको ओमशान्ति टाटासुमोका सञ्चालक राजेश थापाले बताए । ‘कान्ति लोकपथको विभिन्न भागमा निर्माण कार्य भएकाले अलि बढी समय लागेको छ,’ थापाले भने, ‘निर्माण कार्य सम्पन्न भएपछि भीमफेदी–कुलेखानी–सिस्नेरी, दक्षिणकालीको मार्गभन्दा एक घण्टा छिटो हुन्छ ।’

दक्षिकाली नगरपालिकास्थित बज्रङमा टाटासुमोको ठक्करबाट स्कुटर सवारको मृत्यु भएकाले माघ ५ देखि दुवै छोटो मार्ग अवरुद्ध छन् । कान्ति लोकपथमा यात्रुबाहक बस र साना सवारी साधनहरू माघको अन्तिम सातादेखि चलाउने आयोजनाको लक्ष्य थियो । निर्माण सम्पन्न नहुँदै साना साधन सञ्चालनमा आउँदा हेटौंडाबाट काठमाडौं पुग्न ५ घण्टा लागेको टाटासुमो चालक हरिकृष्ण अधिकारीले बताए । ‘निर्माण कार्य सम्पन्न भएपछि हेटौडाबाट काठमाडौं साढे ३ घण्टा पुग्न सकिन्छ,’ उनले भने ।
१३ निर्माण कम्पनीले कान्ति लोकपथको स्तरोन्नतिसहित कालोपत्रे गर्न विभिन्न खण्डमा ठेक्का लिएका छन् । मकवानपुर र ललितपुरतर्फ गरेर हालसम्म १५ किलोमिटर कालोपत्रे भइसकेको छ । असारसम्ममा कान्ति लोकपथ कम्तीमा ५० किलोमिटर सडक कालापत्रे गरिसक्ने दाबी आयोजनाका प्रमख देवेन्द्र साहले गरे । कान्ति लोकपथको निर्माण कार्यलाई तीव्र गति दिनका लागि एक महिनाअघि क्षेत्रीय प्रशासकको अगुवाइमा लोकपथको अनुगमन गरेर सम्बन्धित निर्माण कम्पनीहरूलाई काम तीव्र गतिले गर्न निर्देशन पनि दिएको थियो ।

क्षेत्रीय प्रशासक र प्रजिअले कान्ति लोकपथको निर्माण कार्यमा चासो दिन थालेका छन् । माघ महिनाभित्र काठमाडौं–हेटौंडा यात्रुबाहक बस सञ्चालन लक्ष्यका साथ स्तरोन्नतिका कार्य तीव्र गतिले भइरहेको छ । ‘कान्ति लोकपथमा माघ महिनाभित्र काठमाडौं–हेटौंडा यात्रुबाहक बस आवतजावत गर्न सक्छन्,’ लोकपथ आयोजना प्रमुख साहले भने, ‘उक्त लोकपथमा माघ महिनाभित्र यात्रुबाहक बस सञ्चालन गराउन तीव्र गतिमा काम भइरहेको छ ।’ मालबाहक ट्रकहरू यही मार्ग भएर हेटौंडा–काठमाडौं आवतजावत गर्न चालु आवको अन्तिम अर्थात् असार महिनासम्म कुर्नुपर्ने हुन्छ । ९० किलोमिटर लम्बाइ रहेको उक्त लोकपथको ६६ किलोमिटर दुई लेनको निर्माण गरिसकेको छ भने २४ किलोमिटर सडक विस्तार गर्न बाँकी रहेको छ ।
मकवानपुरतर्फ करिब ८ किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ भने ललितपरतर्फ १६ किलोमिटर बाँकी छ । यो लोकपथको हेटौंडास्थित बुद्धचोक प्रस्थान विन्दु हो भने ललितपुरको सातदोबाटो अन्तिम विन्दु हो । यो लोकमार्ग मकवानपुरतर्फ ५१ किलोमिटर पर्छ भने ललिपुरतर्फ ३९ किलोमिटर रहेको छ । १५ मिटर फाराकिलो रहेको उक्त सडकको ७ मिटरमा कालोपत्रे गरिएको कान्ति लोकपथ आयोजनालाई बहुवर्षीय ठेक्का प्रणालीमा लगेर उक्त रकम सरकारले उपलब्ध गराएको हो ।

सडक स्तरीकरण भएपछि कान्ति लोकपथमा ३० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन गुड्न सक्ने दाबी गरिएको छ । कान्ति लोकपथ पूर्ण सञ्चालनमा आएपछि तीन घण्टामा हेटौंडाबाट ललितपुरको सातदोबाटो पुग्न सकिने छ । हेटौंडादेखि ललितपुरको सातदोबाटोसम्म उक्त लोकमार्ग हाल ८८ किलोमिटर लम्बाइमा झरेको छ । विगतमा ९२ किलोमिटर लम्बाइ थियो । लोकमार्गको स्तरीकरण गर्ने क्रममा चार किलोमिटर छोटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *