आयल निगमले नै तेल ठगेको पुष्टि

Posted On    Author    Category व्यापार.

इन्धन बोक्ने ट्यांकरको गलत क्यालिब्रेसन हुँदा पेट्रोल पम्पहरूले कम इन्धन पाउने गरेको अनुगमनको निष्कर्ष

नेपाल आयल निगमले उपत्यकाका पेट्रोल पम्पलाई तेल ठगेको (भनिएको परिमाणभन्दा कम इन्धन वितरण गर्ने गरेको) भेटिएको छ । साताअघिदेखि भएको अनुगमनले इन्धन बोक्ने ट्यांकरको गलत क्यालिब्रेसन हुँदा पेट्रोल पम्पहरूले निगमले भनेभन्दा कम इन्धन पाउने गरेको देखिएको हो । पम्प व्यवसायीले निगमबाट तोकिएभन्दा कम इन्धन पाउने गरेको गुनासो गरेपछि गुणस्तर तथा नापतौल विभाग, निगम र व्यवसायीको रोहबरमा ११ वैशाखदेखि थानकोट डिपोबाट वितरित इन्धनको अनुगमन सुरु भएको थियो ।

आयल निगमले भारतीय क्यालिब्रेसनको हवाला दिँदै चार हजार लिटर अट्ने भनिएको एक च्याम्बरमा १२ लिटर कम मात्रै इन्धन अट्ने गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । निगमका निर्देशक दीपक बरालले पनि एक च्याम्बरमा १२ लिटर कम भएको स्विकार्दै भारतीय आयल कर्पोरेसनसँग छलफल गर्ने बताएका छन् । ‘भारतीय र नेपाली क्यालिब्रेसनमा अन्तर देखिएको छ,’ उनले केही दिनअघि भनेका थिए, ‘यस विषयमा भारतीय पक्षसँग कुरा गर्छौं । तर, अहिलेको अनुगमनले १२ लिटरभन्दा धेरै बढी तेल अपुग देखिएको विस्तृतमा अध्ययन आवश्यक छ ।’

त्यसरी १२ लिटर कम तेल अट्ने च्याम्बरबाट वितरित इन्धन पनि पेट्रोल पम्पहरूमा पुग्दा ९९ लिटरसम्म कम पुग्ने गरेको पनि अनुगमनबाट पत्ता लागेको छ । पम्प सञ्चालकहरूले पनि बारम्बार निगमबाट कम तेल पाउने गरेकाले विस्तृतमा अध्ययन गरी समस्या समाधान गरिदिनुपर्ने बताएका छन् । माली आयलका सञ्चालक कविन्द्रबहादुर मालीले आवश्यक अनुगमन र अनुसन्धान गरी पम्पले कम तेल पाउने समस्या हल गरिदिनुपर्ने बताए । ‘हामीले सधैँ कम तेल पाइरहेका छौँ,’ उनले भने, ‘त्यसैले समस्या कहाँनेर हो भन्ने कुरा पहिचान गरी समाधान गरिदिनुपर्छ ।’

२ पम्पमा अनुगमन दुवैमा कमी
पेट्रोलियम व्यवसायीको बाग्मती अञ्चल इकाइको अगुवाइमा आयल निगम, गुणस्तर विभाग र व्यावसायीले ११ वैशाखमा कालिमाटीस्थित माली आयल स्टोरमा बरौनीबाट पेट्रोल बोकेर आएको ट्यांकरबाट तेल खसालेर परीक्षण गरेका थिए । ४ हजार लिटर तेल ट्यांकरबाट खसाल्दा ९९ लिटर कम भेटियो । सोही पम्पमा थानकोट डिपोमा तेल लोड गरी आएको ट्यांकरबाट १५ मा तेल खसाल्दा ७९ लिटर कम देखियो । पुनः १६ वैशाखमा ट्यांकरबाट तेल खसाल्दा ९६ लिटर कम देखियो । १९ वैशाखमा बल्खुस्थित रसकटर ट्रेडिङमा ३ हजार लिटर तेल खसाल्दा ४८ लिटर अपुग देखियो ।

यसरी भयो अनुगमन
सुरुमा पम्पको तेल भण्डारण गर्ने अन्डार ग्राउन्ड ट्यांकी सफा गरियो र तेलको मात्रा शून्य गरियो । त्यसपछि ट्यांकरबाट अन्डार ग्राउन्ड ट्यांकीमा तेल खसालियो थियो । र, तुरुन्तै अन्डर ग्राउन्डको तेल डिस्पेन्सिङ पम्पको नोजलबाट पुनः ट्यांकरमा हालिएको थियो । ट्यांकरबाट पाइपको सहायताले ट्यांकीमा तेल खसाल्न आधा घन्टा र ट्यांकीको तेल नोजलबाट ट्यांकरमा हाल्न औसतमा अढाई घन्टा लागेको थियो । तेल लोड र अनलोड गर्ने ३ घन्टाको अवधिमा यति धेरै इन्धन कम भएपछि कहाँबाट तेल कम भइरहेको छ भनेर अनुसन्धान अघि बढाइएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

थप अनुसन्धान गर्न निर्देशन
कालिमाटीको माली आयर स्टोर र बल्खुमा रहेको रसकटर ट्रेडिङ गरी दुई पम्पमा भएको अनुगमनको प्रारम्भिक रिपोर्ट तयारी गरी निगमले सञ्चालक समितिको बुधबारको बैठकमा पेस गरेको छ । सो रिपोर्ट पर्याप्त नभएकाले थप अनुसन्धान गर्न निर्देशन दिएको सञ्चालक समिति सदस्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।

निगमका प्रबन्धक विनय लोहनीले पम्पलाई वितरण गरिएको इन्धनको परिमाण घटबढ भएको विषयमा अनुसन्धान भएको र विस्तृत रिपोर्टको तयारी भइरहेको बताए । ‘हामीले थप पम्पमा वितरित इन्धनको अनुगमन गरी प्रतिवेदनलाई अन्तिम रूप दिन लागिरहेका छौँ,’ उनले भने, ‘अहिले अनुसन्धानको प्रक्रियामै रहेकाले दोष–गुणको विषय निक्र्योल भएको छैन ।’

Source: Naya Patrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *