पवनकली सूँडले सानो ढुंगा टिपेर कृष्णलाई हान्छे । कृष्ण बुझ्छन्, पवनकलीलाई भोक लाग्यो । पवनकली विरामी हुन्छे, कृष्णले साथ छाड्दैनन् । पवनकली रिसाउँछे, कृष्ण फकाउँछन् । यस्तो छ सदर चिडियाखानाकी पोथी हात्ती पवनकली र फनित कृष्णप्रसाद आचार्यको सम्बन्ध ।
झापाका कृष्णप्रसादले आचार्यले २१ वर्षको उमेरमा २०४४ सालमा हात्ती स्याहार्ने जागिर खाए कोशी टप्पु वन्यजन्तु आरक्षमा । त्यहाँ दुई वर्ष हात्ती स्याहारेपछि चिडियाखानामा जागिर खान आए । चिडियाखानामा पवनकलीसँग भेट भयो । स्याहार्न थाले । त्यसबेला पवनकली ३९ वर्षकी भइसकेकी थिई । २८ वर्ष भयो पवनकली र कृष्णप्रसादको संगत ।
अहिले पवनकली ६७ वर्षकी भई, कृष्णप्रसाद ५१ वर्षका भए । कोशी टप्पुमा माउते पदबाट जागिर थालेका थिए । पछि बढुवा भएर ‘पछुवा’ भए । अहिले ‘फनित’ छन् ।
२०५० सालमा कृष्णले विवाह गरे । चिडियाखानको हात्तीसारबाटै जन्ती गए, हात्तीसारमै दुलही भित्राए । हात्तीकै वरिपरि उनका सन्तान जन्मिए, हुर्किए ।
पवनकलीसँग कृष्णको गहिरो प्रेम छ, अपूर्व भावनात्मक सम्बन्ध छ । दुवैले एक अर्कालाई बुझ्छन् । पवनकली बिरामी पर्दा कृष्ण प्रसाद घर जाँदैनन् चिडियाखानामै बस्छन् । पवनकलीले कृष्णलाई घुकर््याउँछे, दङग्याउँछे । रिसाउँछे पनि । पवनकली रिसाएको र खुसी भएको प्रष्टै थाहा पाउँछन् कृष्ण ।
विरामी हुँदा कृष्ण प्रसादलाई हेर्दै बरर आशु झार्छे । सुँडले नजिक बोलाउँछे । वृद्ध भइसकी पवनकली, विरामी भइरहन्छे । विरामी हुँदा कृष्णप्रसाद घर जाँदैनन्, चिडियाखानामै बस्छन् । विरामी हुँदा पशु चिकित्सक राधाकृष्ण घर्तीलाई फोन गर्छन्, राधाकृष्ण आइहाल्छन् ।
सात कक्षा मात्रै पढेका कृष्णले हात्ती स्याहार्दै काठमाडौंमा अनेक दुख गरे । एउटा घर बनाएका छन् । हात्तीकै आशिर्वादले घर बनाएको बताउँछन् ।
‘बाँचुञ्जेल पवनकलीको स्याहारसुसार गर्छु’ कृष्ण भन्छन् ।
जागिरबाट अवकाश पाएपछि चाहिँ के गर्नुहुन्छ ? यो प्रश्न गर्दा केहीबेर टोलाएपछि भने, ‘थाहा छैन, तर म भेट्न आइरहन्छु, मलाई देखिन भने यसको पनि मन मान्दैन ।’
भोक लाग्यो र खान माग्नु प¥यो वा खाना ढिलो भयो भने पवनकली सूँडले सानो ढुंगा टिपेर कृष्णलाई हान्छे, कृष्णले कुरा बुझिहाल्छन् । खुट्टामा काँडा वा ढुङ्गा पस्यो भने खुट्टा उचालेर कृष्णलाई देखाउँछे, कृष्णले कुरा बुझिहाल्छन् । रीस उठ्यो भने आँखा टेंढो पारेर हेर्छे, शरीर, कान केही पनि चलाउँदिन । अनि कृष्ण फकाउँछन् ।
चिडियाखानाको प्रमुख आकर्षण बनेकी छे पवनकली । चिडियाखाना जानेहरु प्रायले हात्ती चढ्छन् । मान्छे बोक्न पवनकली अल्छी मान्छे । मान्छे बोक्नुपर्छ भनेर चिडियाखानाको पोखरीमा खेल्न जान्छे अनि फर्कन मान्दिन । बोलाउँदा पनि आउँदिन । अब मान्छे बोक्नुपर्छ भनेर पवनकलीले पहिल्यै थाहा पाइहाल्छे ।
जे भए पनि पवनकली जनावर हो, जमिनमा पाइने सबैभन्दा ठूलो जीव हो । तर, पवनकलीले अहिलेसम्म कृष्णलाई कहिले आक्रमण या हानी हुने केही गरेकी छैन । अरु मानिसलाई पनि कहिल्यै आक्रमण गरेकी छैन ।
कृष्णका अनुसार असल र खराब मानिस थाहा पाउँछे पवनकली । जाँडरक्सी खाने मानिसँग पवनकली रिसाउने गरेको अनुभव सुनाउँछन् ।
पवनकलीलाई बस भन्नु पर्दा ‘ब्वाईठ’, उठ भन्नुपर्दा ‘म्वाईल’, हिँड भन्नु पर्दा ‘अगत’, उभिराख तथा बदमास नगर भन्नुपर्दा ‘र’, पछाडी सर भन्दा ‘छौ’ शब्द प्रयोग गर्छन् कृष्ण । पवनकलीले कृष्णको भाषा बुझिहाल्छन् ।
आजकाल पवनकलीलाई खानामा रुची छैन, पवनकलीलाई बुढेसकाल लागेको देखेर कृष्ण चिन्तित छन् ।
पवनकलीलाई बेलुकी एक ट्रयाक्टर डाले घाँस दिइन्छ, रातभरी त्यही खान्छे । दिउँसो एक बजे खाजा १२ किलो फलफूल खान्छे पवनकली । पहिलेपहिले अपरान्ह ४ बजे पहिले १५ किलो धान र कुची दिइन्थ्यो तर आजकाल पचाउन सक्दिन, त्यसैले चार किलो धान र ५०/६० वटा कुची मात्र दिइन्छ । कुची भनेको धान, सख्खर, नुन, चना, लगायत १६ प्रकारका अन्नबाली मिसाएर परालमा बाँधिएको पोका हो ।
‘हात्तीको औसत आयु ८० बर्ष हो, अझै १३ वर्ष बाँच्छे भन्ने आश छ तर विरामी र अशक्त हुँदै गएकी छे, त्यसैले चिन्तित छु’ कृष्ण भन्छन् ।
उनी थप्छन्, ‘मैले जागिरबाट अवकाश पाउन नौ वर्ष बाँकी छ, यो नौ वर्ष म पवनकलीसँगै हुन्छु तर त्यसपछि पवनकली बिनाको मेरो जीवन अनि म बिना पवनकलीको जीवन कसरी चल्छ थाहा छैन ।’
Source Hamrokatha
Leave a Reply